सत्र १६: समयः ९० मिनेट

वातावारणमैत्री स्थानीय शासन अवलम्बन र घोषणा:

  • अवलम्बन :
  • लगानीको लागि स्रोतको सुनिश्चितता:

वातावरणमैत्री स्थानीय शासन अवलम्बन गर्न सर्बप्रथम स्थानीय तहको नीतिगत प्रतिबद्धता आवस्यक छ ।नीतिगत प्रतिबद्धतालाई कार्यन्वयनमा ल्याउन कार्य योजना बनाई आवबधिक, बार्षिक, बिषयगत योजनामा समावेश गराउनुपर्छ । सो बमोजिम आवस्यक वित्तीय स्रोतको व्यवस्थापन गर्नु पर्छ । आफ्नै स्रोत, सेवा शुल्कको व्यवस्था, संघीय/प्रादेशिक अनुदान, सम्बन्धित कार्यक्रम, निजि क्षेत्र, समुदाय तथा सार्बजनिक निजि साझेदारी जस्ता विभिन्न उपाय अपनाई वातावरणमैत्री स्थानीय शासन प्रारूप बमोजिमका सूचक हाशिल गर्न समयबद्ध रुपमा स्रोतको सुनिश्चितता गर्नु पर्छ ।

  • जनशक्तिको आवस्यकता/उपलब्धता:

वातावरणमैत्री स्थानीय शासन कुनै नयॉ र थप कार्यक्रम नभई संविधान, नीति एवम् प्रचलित कानून बमोजिम स्थानीय तह आफै वा आफ्नो अगुवाइ वा समन्वयमा सम्पादन गर्नुपर्ने काम तथा जिम्मेवारीको सूची हो। यसमा मूल्याङ्कनयोग्य सरल सूचक तयार गरी सन्निकटताको सिद्धान्त बमोजिम घर–परिवार, टोल÷बस्ती, वडास्तर तथा गाउँपालिका÷नगरपालिका र जिल्लालाई यस्ता सूचक हासिल गर्न प्रोत्साहित गर्ने अवधारणामा आधारित भई तयार गरिएको छ। यसर्थ यसलाई कुनै नयाँ कार्यक्रमका रूपमा नलिई सम्बन्धित सबै तहले विद्यमान जनशक्तिलाई यस्ता सूचक हासिल गर्ने गरी जिम्मेवारी तोकी लक्ष्य प्राप्ति तर्फ उत्प्रेरित गर्न आवश्यक हुन्छ। त्यसैगरी सबै निकायले आ–आफ्नो क्षेत्रमा सञ्चालन भइरहेका वातावरण संरक्षण, फोहरमैला व्यवस्थापन तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरूलाई यस प्रारूपसँग सामञ्जस्यता कायम गरी कार्यान्वयन गर्नु पर्दछ।पालिका तहमा वातावरण/फोहरमैला व्यवस्थापन/विपद व्यवस्थापन हेर्ने शाखा/महाशाखा/इकाईलाइ कार्यन्वयनमा समन्वय गर्ने गरि जिम्मेवारी दिन उपयुक्त हुन्छ ।

सङ्घीय तहमा आवश्यक समन्वय र सहजीकरण गर्ने कार्य सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुखको प्रत्यक्ष निर्देशनमा रही वातावरण तथा विपद् व्यवस्थापन शाखाले गर्नेछ।

  • अभिलेख/प्रतिबेदन:

स्थानीय तहले घरपरिवार देखि पालिका तहसम्मका EFLG सूचकहरुको विद्धमान अवस्था, Intervention को आवस्यकता, घोषणा गरिएका घर परिवार, टोल/समुदाय तथा वडाहरुको अभिलेख व्यवस्थित गरि राख्नु पर्छ । यस्तो अभिलेखलाई नियमित रुपमा अध्यावधिक गर्नुपर्छ ।बार्षिक रुपमा अध्यावधिक गरेको विवरण सबैको जनाकारीको लागि आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्छ । साथै यस्तो प्रतिबेदन सम्बन्धित जिल्ला समन्वय समिति, प्रदेश सरकारको सम्बन्धित निकाय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(वातावरण व्यवस्थापन शाखा) मा पठाउनु पर्छ ।

२. वातावरणमैत्री घोषणा र उत्प्रेरणाका बिधिहरु:  

(क) वातावरणमैत्री घोषणा:

(१) घरपरिवार तह: नगर क्षेत्रमा टोल विकास सस्थाले घरपरिवार तहको सूचक पुरा गरे नगरेको मापन गरि सिफारिस साथ वडामा प्रतिबेदन दिएपछि वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समितिले पालिकाको सहमतिमा निर्णय गरि वातावरणमैत्री घरपरिवारको रुपमा घोषणा गर्ने ।गाउँपालिका क्षेत्रमा टोल विकास सस्था गठन भएको भए टोल विकास सस्थाले मापन गरि सिफारिश गरे बमोजिम हुने, यदी टोल विकास सस्था गठन भएको छैन भने वडा समन्वय समितिले तोकेको वडा सदस्यको संयोजकत्वमा सरोकारवालाहरु रहेको टोलिले मापन गरि गरेको सिफारिश र पालिकाको सहमतिको आधारमा वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समितिले निर्णय गरि वातावरणमैत्री घरपरिवारको रुपमा घोषणा गर्ने ।

(२) टोल विकास/समुदाय तह: वडा समन्वय समितिले तोकेको वडा सदस्यको संयोजकत्वमा सरोकारवालाहरु रहेको टोलिले मापन गरि गरेको सिफारिस र पालिकाको सहमतिको  आधारमा वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समितिले निर्णय गरि वातावरणमैत्री टोलको  रुपमा घोषणा गर्ने ।

(३)  वडा तह: कार्यपालिका सदस्यहरु मध्येबाट वातावरणमैत्री स्थानीय शासन नगर/गाउँ समन्वय समितिले तोकेको सदस्यको संयोजकत्वमा पालिकाको प्राविधिक, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख वा प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख वा प्रतिनिधि, विद्यालयको प्रधानाध्यापक मध्येबाट एक जना र नगरस्तरमा क्रियाशील गैर सरकारी संस्थाका प्रतिनिधि समेतको टोलीमार्फत मापन गरि सो टोलीको प्रतिबेदन बमोजिम वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समितिले निर्णय गरि पालिकामा सिफारिश गर्ने । वडा समन्वय समितिको सिफारिश र मापन टोलीको प्रतिबेदनको आधारमा पालिकाले वातावरणमैत्री वडा घोषणा गर्ने ।यस्तो घोषणा बिशेष कार्यक्रमको आयोजना गरि गर्न सकिनेछ ।

(४) पालिका तह: जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको प्रतिनिधि, जिल्ला समन्वय अधिकारी, जिल्ला स्थित खानेपानी, शिक्षा, स्वास्थ्य, वनकार्यालयको प्रमुख एवम् जिल्ला भित्र क्रियाशील गैर सरकारी संस्थाहरुको समेत प्रतिनिधित्व रहेको टोली मार्फत मापन गरि मापन फाराम भरी जिल्ला सभामा सिफारिस साथ पठाउने । पालिका तथा जिल्ला  समन्वय समितिको सिफारिश र मापन टोलीको प्रतिबेदनको आधारमा जिल्ला सभाले  वातावरणमैत्री पालिका घोषणा गर्ने ।यस्तो घोषणा बिशेष कार्यक्रमको आयोजना गरि गर्न सकिनेछ ।

(५) जिल्ला तह: जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकाहरू वातावरणमैत्री घोषणा भइसकेपछि र जिल्लाका सबै सूचक पुरा भएपछि जिल्ला सभाले निर्णय गरी वातावरणमैत्री जिल्ला घोषणाका लागि वातावरणमैत्री स्थानीय शासन राष्ट्रिय समन्वय समितिसमक्ष अनुरोध गर्नु पर्नेछ। यस्तो अनुरोध प्राप्त भएपछि सो समितिबाट प्राविधिक उपसमिति मार्फत अनुगमन मूल्याङ्कन गरी सो उपसमितिको अनुगमन प्रतिवेदनको आधारमा निर्णय गरी विशेष कार्यक्रमसाथ जिल्लालाई वातावरणमैत्री जिल्लाको रूपमा घोषणा गरी परिच्छेद ६.२ बमोजिमको लोगो र कदरपत्र प्रदान गरिनेछ।

(ख) उत्प्रेरणाका बिधिहरु:

 (क) घर-परिवार तह

१)    निर्धारित सूचकहरू पुरा गरेको घर–परिवारलाई “वातावरणमैत्री घर परिवार” को घोषणा गरी लोगो तथा कदरपत्र प्रदान गर्ने र त्यस्तो लोगो सडकबाटै देखिने गरी सम्मान पाउने घरपरिवारको प्रवेशद्वारमा टाँस्ने व्यवस्था गर्नु पर्नेछ।

२)    वातावरणमैत्री घर–परिवारको सम्मान प्राप्त गर्नेलाई गाउँ÷नगर सभाले निर्णय गरी स्थानीय तहको कानून बमोजिम लगाउने सेवा शुल्क तथा दस्तुरमा आंशिक वा पूर्ण छुटको व्यवस्था गर्न सक्नेछ।

(ख) टोल/समुदाय तह

१)    टोल÷समुदायले निर्धारित सूचकहरू पूरा गरी वातावरणमैत्री टोल घोषणा भएको अवस्थामा नगरपालिकाले त्यस्तो टोल÷समुदायलाई वातावरणमैत्री सम्मान स्वरूप लोगो तथा कदरपत्र प्रदान गर्ने र त्यस्तो लोगो र कदरपत्र समावेश भएको होर्डिङ्गबोर्ड राख्न अनुमति प्रदान गर्न सक्नेछ।

२)    वातावरणमैत्री टोल÷समुदाय घोषित भएका टोलबासी÷समुदायको सिफारिसमा उक्त टोल समुदायका सदस्यलाई नगरपालिकाले सञ्चालन गर्ने क्षमता विकासका क्रियाकलापहरू (तालिम, गोष्ठी, अवलोकन भ्रमण आदि) मा प्राथमिकताका साथ अवसर प्रदान गर्नेछ। साथै यस्तो कार्यमा क्रियाशील टोललार्ई भौतिक साधनहरू (फर्निचर, कम्प्यूटर आदि) बाट पुरस्कृत गर्न सक्ने र यस्ता टोलका पदाधिकारीलाई नगरकै अन्य टोलहरूमा स्रोत व्यक्तिका रूपमा उपयोग गर्ने व्यवस्था मिलाउन सकिनेछ।

(ग) वडा तह

१)    निर्धारित सूचकहरू पूरा गरी वातावरणमैत्री घोषणा हुने वडालाई वातावरणमैत्री स्थानीय शासन गाउँ/नगर समन्वय समितिको निर्णय अनुरुप कदरपत्र तथा लोगो प्रदान गर्नेछ।

२)    वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समितिलाई गाउँपालिका/नगरपालिकाबाट प्रोत्साहन पुरस्कार प्रदान गर्न सकिनेछ। यस कार्यमा सक्रियताकासाथ सहयोग गर्ने व्यक्ति–विशेषलाई नगद पुरस्कारको पनि व्यवस्था गर्न सकिनेछ।

३)    वातावरणमैत्री घोषणा भएको वडालाई परिस्कृत सूचक हासिल गर्न गाउँपालिका/नगरपालिकाबाट थप अनुदान प्रदान गर्न सकिनेछ।

(घ) गाउँपालिका/नगरपालिका तह

१)    वातावरणमैत्री स्थानीय शासनका आधारभूत सूचकहरू पूरा गर्ने गाउँपालिका/नगरपालिकालाई वातावरणमैत्री स्थानीय शासन जिल्ला समन्वय समितिद्वारा “वातावरणमैत्री गाउँपालिका/ नगरपालिका” को रूपमा कदरपत्र सहित लोगोद्वारा सम्मानित गर्नु पर्नेछ।

२)    वातावरणमैत्री घोषणा भएका गाउँपालिका/नगरपालिकालाई नेपाल सरकारले प्रोत्साहन गर्न सक्नेछ।

(ङ) जिल्ला तह

१)    जिल्ला भित्रका सबै गाउँपालिका तथा नगरपालिकाहरुले निर्धारित सूचकहरू पूरा गरेकाजिल्लालाई नेपाल सरकारबाट “वातावरणमैत्री जिल्ला” को रूपमा कदरपत्र तथा लोगोबाट सम्मानित गरिनेछ।

२)    वातावरणमैत्री घोषणा भएका जिल्लालाई नेपाल सरकारले पुरस्कार वा प्रोत्साहन प्रदान गर्न सक्नेछ।

(च) तारा प्रदान गर्ने प्रक्रिया

वातावरणमैत्री घोषणा भएका र परिस्कृत सूचकहरु पूरा भएका घर परिवार, टोल, वडा, गाउँपालिका, नगरपालिका तथा जिल्लालाई परिच्छेद ७.३ बमोजिम गरिने मापन तथा अनुगमनका आधारमा  परिच्छेद ६.२ मा उल्लेख भएबमोजिमको तारा प्रदान गर्ने कार्य सम्बन्धित तहको वातावरणमैत्री स्थानीय शासन समन्वय समितिले वार्षिक रुपमा गर्नेछ।