वातावरणमैत्री स्थानीय शासन र विषय क्षेत्रगत अन्तरसम्बध (२)
५.१ खानेपानी, सरसफाइ, फोहरमैला व्यवस्थापन र वातावरण संरक्षण
१ पृष्ठभूमि
स्थानीय सरकारहरुले अहिले संबैधानिक अधिकार सहित केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त श्रोत र कानुन प्रदत्त आफ्नै आर्थिक श्रोत परिचालन गरी उल्लेख्य रुपमा स्थानीय पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरेको पाइन्छ।तथापि वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ लागू हुने केही ठूला आयोजनाहरुमा सोही बमोजिम, तर उपभोक्ता समिति मार्फत संचालन गरिने धेरै संख्याका साना आयोजनाहरुमा पनि बताबरणीय संरक्षणमा उत्तिकै ध्यान दिनु पर्ने हुन्छ।।वास्तबमा आयोजना चक्रको शुरुवात अर्थात् आयोजना तर्जुमाको चरण देखि कार्यान्वयन र संचालनको चरण सम्म नै बाताबरणीय पक्षलाई समेट्नु पर्ने हुन्छ।वाताबरणमैत्री स्थानीय शासनको प्रारूप, २०७८ मा उल्लिखित बिभिन्न तहका सूचक हरु प्राप्त गर्ने बिषयलाई मध्ये नजर राखी स्थानीय सरकारहरुले कार्य गर्दा बाताबरण र दिगो विकास सम्बन्धी लक्ष हासिल गर्न समेत टेवा पुग्न जान्छ।
२. खानेपानी तथा सरसफाइको क्षेत्र र वाताबरणीय व्यवस्थापन
पर्याप्त र स्वच्छ खानेपानी जीबनयापनका लागि अत्याबश्यक र अनिबार्य छ। नगरपालिका स्थानीय सरकारको घना बस्ति र जनसंख्या भएको क्षेत्र हुनाले खानेपानी तथा सरसफाइ, फोहर मैला एबम प्रदुषण ब्यबस्थापन लगायतका बिषयमा अनेकौं समस्या तथा चुनौतिहरुको सामना गर्नु पर्ने हुन्छ।बढ्दो जनसंख्याका लागि सार्बजनिक तथा निजी सुरक्षित खानेपानीको ब्यबस्था सीमित स्थानीय प्राकृतिक श्रोतहरुले धान्न नसक्नु स्वाभाविकै हो।त्यस माथि, जलबायु परिबर्तन तथा बढ्दो जल प्रदुषणले थप चुनौति व्यहोर्नु पर्ने हुन्छ।त्यसकारण, पानीका स्थानीय श्रोत एबम कुवा, इनार र ढुंगे धारा जस्ता परम्परागत खानेपानी प्रणालीको संरक्षण गर्नु, वर्षाको पानीको संकलन प्रणालीको स्थापना आदि अत्यन्त महत्व पूर्ण हुन्छ।त्यसै गरी खानेपानी प्रणालीको मर्मत सम्भार र चुवाहट नियन्त्रण पनि अत्यन्त जरुरी कार्य हो ।
शहरी सरसफाइका लागि बैज्ञानिक फोहर ब्यबस्थापन र ढल निकास प्रणालीको स्थापना र ब्यबस्थापन (जस अन्तर्गत ढलको पानी अवस्था अनुसार Septic Tank र Soak Pit, अथवा सामुदायिक वा बृहत ढल प्रशोधन प्रणालीमा बिसर्जन गर्ने व्यवस्था) गरिनु पर्दछ।नगर क्षेत्र स्वच्छ रहने गरी पर्याप्त संख्यामा सफा सार्बजनिक शौचालायहरुको निर्माण र ब्यबस्थापनको आबश्यकता पर्दछ।यस बाहेक सडक, चोक, पार्क लगायत अन्य शहरी क्षेत्रको नियमित सरसफाइको व्यवस्था पनि उत्तिकै जरुरि हुन्छ।यसका लागि साधन, श्रोत, ज्ञान शिपयुक्त जनशक्ति एबम सक्षम संस्थागत प्रणालीको आबश्यकता पर्दछ, जसको समुचित तवरले व्यवस्था गर्दै जानु पर्ने हुन्छ। यस प्रयोजनका लागि सबै तहका सरकार, गैर सरकारी, सामुदायिक संस्था र नगरबासीहरू बीचको समन्वय र सहकार्य अनिवार्य हुन्छ।
कानुनी रुपमा बतबरणीय अध्ययन जस्तै: प्रारम्भिक बतबरनणीय परिक्षण (IEE) वा बाताबरणीय प्रभाब मूल्यांकन (EIA) गरिनु पर्ने सापेक्षित ठूला आयोजना बाहेकका साना आयोजनाहरुको बिभिन्न चरणमा वातावरणीय पक्षलाई समाबेश गरिनु अत्यन्त जरुरी हुन्छ जसबाट आयोजनाको तर्जुमा चरण देखि संचालन चरण सम्म यसका विभिन्न क्रियाकलापहरुमा वातावरणीय पक्ष अभिन्न रुपले समाबेश हुन जान्छ।यस्ता साना आयोजनाको विभिन्न चरणको क्रियाकलापहरुमा वाताबरणीय पक्ष कसरी समाबेश गर्ने भन्ने विषय बुँदागत रुपमा तल उल्लेख गरिएका छन्।
२.१ आयोजना तर्जुमा चरण:
- वातावरणीय दृष्टिले सम्बेदनशील क्षेत्रहरुको पहिचान र सहभागिता मूलक नक्शांकन गर्ने।
- स्थानीय प्राकृतिक, सामाजिक र सांस्कृतिक श्रोतहरु जस्तै: वन क्षेत्र, पिउने पानीका श्रोतहरु, प्राकृतिक दृष्टिले जोखिमपूर्ण क्षेत्र, सार्वजनिक जग्गा, धार्मिक क्षेत्र, चरण क्षेत्र आदि साझा स्थलहरु, सामाजिक संस्कृतिक स्थल र संरचनाहरु र स्थानीय अन्य पूर्वाधारहरु पहिचान र नक्शांकन गर्ने।यसका लागि स्थानीय जानकार व्यक्तिहरुलाई सहभागी गर्ने ।
- प्रस्तावित आयोजनाको मोटामोटी नक्शांकन उक्त नक्शामा समावेश गर्ने।
- प्रस्तावित आयोजनाबाट हुन सक्ने सम्भावित नकारात्मक परिणामहरुको सूचीकरण गर्ने (उदाहरण: वन विनास, स्थानीय सांस्कृतिक सम्पदामा क्षति र स्थानीय जमिन र पानीको श्रोतहरुमा प्रदुषण आदि)।
- सहभागितात्मक प्रक्रियाले आयोजनाको नक्शांकन र तयारी गर्ने।
- स्थानीय पानीका श्रोत, परम्परागत ढुंगे धारा, कुवा वा पँधेरो संरक्षणको कार्यलाई प्राथमिकता दिने।
- सरसफाईको क्षेत्रमा व्यक्तिगत सरसफाइ, घरायसी र टोल तथा अन्य स्थानको सरसफाइको महत्व बारे जानकारी गराउने र व्यक्तिगत तथा सार्वजनिक शौचालयको महत्व तथा निर्माण बारे जानकारी गराउने।आवश्यक सार्वजनिक शौचालयको निर्माण, अन्य सरसफाइसंग संबन्धित संरचना आयोजनामा समाबेश गर्ने।
२.२ आयोजना कार्यान्वयन चरण:
- मुहान संरक्षण र मुहानको वरिपरि आवश्यक बृक्षारोपन गर्ने।
- Intake, collection chamber, पाइप बिछ्याउन खाडल खन्ने र पाइप पुर्ने, Reservoir tank (पानी पोखरी), पानी वितरण धारा पोष्ट, ट्युब वेल, इनार आदि निर्माण कार्य गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ।
- रुख कटान नगर्ने वा न्युनिकरण गर्ने।
- निर्माण सामाग्रीहरु सुरक्षित स्थानमा भण्डारण गर्ने।
- संरचनाको जग वा पाइपलाइन बिछ्याउन खाल्डो खन्दा निस्केको माटोको पुन: प्रयोग र ब्यबस्थापन गर्ने।
- उक्त निर्माण कार्यले अन्य पूर्वाधार संरचना, तलाउ, पोखरी, मठ मन्दिर र व्यक्तिगत घर जग्गा आदिमा नकारात्मक असर पर्न नदिने।
- खेर जाने पानीको उपयुक्त निकासको व्यवस्था गर्ने।
- निर्माण कार्य सकिए पछि बाँकी सामानको व्यवस्थापन गर्ने। धाराबाट बग्ने पानी सम्भव भए सम्म करेसा बारीमा प्रयोग गर्ने।
- आयोजनामा संलग्न गरिएका क्षेत्रमा शौचालय निर्माण गर्ने र आबश्यकता अनुसार जनस्तरमा प्राबिधिक सहयोग प्रदान गर्ने।
- ढल निकासको लागि अवस्था हेरी Septic tank, soak pit मा बिसर्जन गर्ने प्रणाली, सामुदायिक ढल प्रशोधन प्रणाली वा बृहत ढल प्रशोधन प्रणालीमा बिसर्जन गर्ने व्यबस्था गर्ने।अप्रशोधित ढलको पानी सिधै खोला, नदी, पोखरी वा तालमा बिसर्जन गर्न रोक लगाउने।
२.३ आयोजना संचालन चरण:
आयोजना सम्पन्न भए पश्चात संचालनको लागि संचालक समिति गठन गरी घर घरमा पानीको मीटर जडान गरी उपभोग शुल्क उठाउने र सो रकम समितिको कोषमा जम्मा गरी आबश्यकता अनुसार तत्काल मर्मत सम्भार गर्ने व्यवस्था गर्नु पर्छ ताकि पनि चुहावटबाट तथा पानीको अभाबमा हुने सरसफाइमा समस्या लगायत बाट बताबररणमा पर्ने नकारात्मक प्रभाब नपरोस।
३. फोहरमैला व्यवस्थापन
फोहर मैला ब्यबस्थापन हाल नेपालका स्थानीय सरकारहरुको प्रमुख चुनौति रही आएको देखिन्छ।उचित र बैज्ञानिक फोहर ब्यबस्थापनको अभावमा घर,, टोल, चोक, सडक तथा सार्बजनिक क्षेत्रहरुमा जता ततै फोहर देखिन्छ। यसबाट जना स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै पर्यटकहरुमा समेत आफू घुमेको स्थान प्रति नकारात्मक संदेश प्रबाह हुन् जान्छ। जसबाट देशकै प्रतिष्ठा तथा पर्यटन ब्यबसायमा नकारात्मक असर पर्न जान्छ।फोहर मैला ब्यबस्थापनको सम्बन्धमा स्थानीय सरकार र त्यहाँ रहने बासिन्दाले निम्न बमोजिमका कार्यहरु गर्नु पर्ने हुन्छ।
- श्रोत मै कमसेकम कुहिने, नकुहिने र घातक फोहर (Hazardous Waste) जस्तै: ब्याट्री, अस्पतालका फोहर, रसायन जन्य फोहर आदि, छुट्याउने व्यवस्था गर्ने।त्यसका लागि छुट्टा छुट्टै फोहर हाल्ने बीनको व्यवस्था गर्ने।
- फोहर मैला ब्यबस्थापनमा 3R (Reduce, Re Use and Recycle) को सिद्धान्त अपनाउने अर्थात् बिभिन्न प्रयोगमा ल्याई फोहर घटाउने, पुनः प्रयोग गर्ने तथा फोहर बस्तुबाट यथा सम्भव नया सामान उत्पादन गर्ने। जसका लागि घर घरमा करेसा बारी वा कौशी खेतीलाई प्रोत्साहन गर्ने र कुहिने बस्तुहरु कम्पोष्ट मलको रुपमा प्रयोग गर्ने। बोतल, कागजको बाकस, बाक्लो प्लाष्टिकका झोला आदि सामानहरुको पुनः प्रयोगका लागि सचेतना बढाउने र प्रोत्साहन गर्ने। कम्पोष्ट मल उत्पादन गर्ने तथा फोहर जन्य सामानहरुको प्रयोग गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्ने।
- फोहर संकलन स्थलको उचित पहिचान र व्यवस्थापन गर्ने।
- फोहर संकलनका लागि सकभर आधुनिक बिशेष ट्रक प्रयोग गर्ने।
- सबै गाउँ तथा नगर पालिकाले सक भर आफ्नै नत्र साझा रुपमा प्रयोग हुने फोहर बिसर्जन स्थाल (Land Fill Site) को व्यवस्था र प्रचलित बैज्ञानिक तरिकाले संचालन गर्ने।
- फोहर गर्नेले तिर्ने (Polluters Pay) नीति कार्यान्वयन गर्ने, जसका लागि फोहर संकलन र ढल निकासमा पठाएको पानीको दिगो संचालनको खर्चका लागि उचित शुल्क लगाउने।
- आबश्यक स्थलहरुमा आधुनिक सार्बजनिक शौचालयहरुको व्यवस्था र संचालन गर्ने।
- नदी, नाला, तलाउ, पोखरी आदिमा अप्रशोधित ढल बिसर्जन हुन नदिने प्रबन्ध गर्ने।
- सडक, टोल, चोकका साथै समग्र गाउँ वा शहर सफा राख्ने व्यवस्था गर्ने।
- नियम बिपरित फोहर गर्नेलाई नियमानुसार दण्डित गर्ने।
४. खानेपानी सरसफाइ तथा फोहरमैला ब्यबस्थापन स्थानीय सरकारको भूमिका
बाताबरणमैत्री स्थानीय शासनको सन्दर्भमा खानेपानी, सरसफाइ तथा फोहरमैला ब्यबस्थापनका क्रियाकलापहरुले धेरै महत्व राख्दछन्।त्यस सम्बन्धी प्रारूप अनुसार घर परिवार, टोल, स्थानीय तह तथा जिल्ला तह सम्मका लागि आधारभूत, परिष्कृत र बिशेष सूचकहरु तयार भएका छन्।यी सूचकहरुको परिपूर्तिले देशको समग्र बाताबरणीय पक्षलाई सुधार्न र संयुक्त राष्ट्र संघले तोकेको देशको दिगो विकास सम्बन्धी लक्ष नं ६: सबैलाई दिगो खानेपानी र सरसफाइको व्यवस्था शीर्षक अन्तर्गतका लक्षहरु हासिल गर्न सघाउ पुर्याउने नै छ।
| स्थानीय सरकार संचालन ऐन, २०७४ ले स्थानीय सरकार अर्थात गाउँपालिका र नगरपालिकाको भूमिका स्पष्ट परेको छ, उक्त ऐनको परिच्छेद ३ अन्तर्गत गाउँ तथा नगरपालिकाको काम, कर्तब्य र अधिकार, दफा ११. ले गाउँ तथा नगरपालिकाको अधिकार निम्न बमोजिम तोकेको पाइन्छ। | |
| (झ) आधारभूत स्वास्थ्य तथा सरसफाइ
(१) आधारभूत स्वास्थ्य र सरसफाइ तथा … सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यन्वयन तथा नियमन, (५) स्वच्छ खानेपानी, … प्रदुषण नियन्त्रण र नियमन, (६) सरसफाइ सचेतनाको अभिवृद्धि र स्वास्थ्य जन्य फोहोर मैलाको ब्यबस्थापन, (७) स्वास्थ्य जन्य फोहोर मैला संकलन, पुन: उपयोग, प्रशोधन, बिसर्जन र सो को सेवा शुल्क निर्धारण र नियमन, (१०) सरसफाइ तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहरमैला ब्यबस्थापनमा निजी तथा गैर सरकारी क्षेत्रसंग समन्वय, सहकार्य र साझेदारी, |
(ञ) स्थानीय बजार ब्यबस्थापन, बाताबरण संरक्षण र जैविक बिबिधता:
(१२) बाताबरण संरक्षण … सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा कार्यान्वयन, अनुगमन र नियमन, (ट) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाइ: (१) स्थानीय, ग्रामीण तथा कृषि सडक र सिंचाइ सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यन्वयन, अनुगमन र नियमन, (२) स्थानीय … सडक, झोलुंगे पूल, पुलेसा, सिंचाइ र तटबन्ध सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वायन, मर्मत सम्भार र नियमन, (३) स्थानीय स्तरका सिंचाइ प्रणालीको निर्माण, संचालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन, (४) यातायात सुरक्षाको ब्यबस्थापन र नियमन, (५) स्थानीय सडक, ग्रामीण सडक र कृषि सडक सम्बन्धी अन्य कार्य, यसबाट खानेपानी, सरसफाइ र फोहरमैला ब्यबस्थापन क्षेत्रसंग संबन्धित बताबरण मैत्री स्थानीय सरकार प्रारूप, २०७८ मा उल्लिखित सूचकहरु प्राप्तिमा स्थानीय सरकारहरुको भूमिका स्पष्ट हुन्छ। यसरी खानेपानी, सरसफाइ तथा फोहरमैला ब्यबस्थापन क्षेत्रको साना देखि ठूला आयोजनाको बाताबरण मैत्री रुपमा योजना साथै बजेट तर्जुमा, कार्यन्वयन तथा संचालन लगायत अन्य सम्बद्ध कार्यको जिम्मेवारी कानूनत: स्थानीय सरकारमा रहेको पुष्टि हुन्छ। |
५. स्थानीयस्तरमा क्षमता अभिवृद्धि
खानेपानी, सरसफाई तथा फोहरमैला ब्यबस्थापन सम्बन्धमा बाताबरणमैत्री स्थानीय सरकार प्ररुपमा विभिन्न सूचकहरुको व्यवस्था गरिएका छन।ती सूचकहरुको समुचित कार्यन्वयनका निमित्त बिशेष गरी स्थानीय सरकारको बाताबरण महाशाखा वा शाखाका कर्मचारीहरुलाई त्यस सम्बन्धमा अभिमुखीकरण र क्षमता अभिवृद्धि तालिमको आवश्यकता पर्दछ।यस अभिमुखीकरण तथा क्षमता अभिवृद्धि तालिमका लागि निम्न बिषयहरु समाबेश गर्न सकिन्छ।
- बाताबरण मैत्री स्थानीय शासन प्रारूप सम्बन्धी जानकारी,
- साना खानेपानी तथा सरसफाइ आयोजनाको आयोजना तर्जुमा, कार्यान्वयन, संचालन चरणमा बाताबरण संरक्षण सम्बन्धी कार्यहरु,
- फोहरमैला ब्यबस्थापन सम्बन्धी कार्यहरु,
यस प्रकार नेपालमा बाताबरणमैत्री स्थानीय शासनको अबलम्बन गरी नेपालको संबिधान, स्थानीय सरकार संचालन ऐन, बाताबरण संरक्षण ऐन, खानेपानी तथा सरसफाइ सम्बन्धी ऐन, फोहरमैला ब्यबस्थापन सम्बन्धी ऐन तथा नियमावलीले व्यवस्था गरे बमोजिम वातावरणमैत्री स्थानीय शासन पद्धतिको संस्थागत विकासद्वारा खानेपानी तथा सरसफाइ एवं फोहरमैला ब्यबस्थापन सम्बन्धी विद्यमान अवस्थामा सुधार ल्याई उत्थानशील समुदायको निर्माण गर्न सकिने छ।