सत्र ४: समयः ९० मिनेट

वातावरणमैत्री स्थानीय शासन र विषय क्षेत्रगत अन्तरसम्बध (१)

४.१:  जलवायु उत्थानशील कृषि तथा खाद्य सुरक्षा

1 परिचय

जलवायु उत्थानशील कृषि भनेको यस्तो कृषि प्रणाली हो जसले जलवायु परिवर्तनका असरहरू (जस्तै तापक्रम वृद्धि, अनियमित वर्षा, बाढी, सुख्खा, कीरा रोग) को सामना गर्न सक्ने क्षमता राख्छ र दीगो रूपमा उत्पादन र जीविकोपार्जन सुनिश्चित गर्न सहयोग गर्दछ । यो जलवायु परिवर्तनवाट सृजना हुने जोखिम व्यवस्थापनको एक आधारभूत अवधारणा पनि हो । यसैले उत्थानशील (Resilient) ले जलवायु तथा मौसममा हुने परिवर्तनहरूको प्रभावहरूको पूर्वानुमान गरी आवश्यक तयारी गर्दै कृषि प्रणालीलाई परिवर्तित वातावरण अनुकूलन गर्ने क्षमता राख्दछ । यसले कृषि उत्पादन र उत्पादकत्वमा बृद्धि गर्ने, प्राकृतिक स्रोतको संरक्षण गर्ने, र जलवायु परिबर्तनको असर कम गरी कृषि प्रणाली अवलम्बन गर्न कृषकहरुको क्षमता विकासमा सहयोग गर्दछ । जलवायुमैत्री कृषि पद्धतिले कृषि उत्पादनलाई जलवायु अनुकुलन र न्यूनिकरणका प्रविधि र प्रक्रियाहरू मार्फत दिगो बनाउन मद्दत पुर्याउँदछ । जलवायुमैत्री कृषि पूर्ण रूपमा नयाँ पद्धति नभई बर्तमान अवस्थामा अभ्यास गरिएका असल अभ्यासहरूमा आधारित पद्धति हो जसले कृषि क्षेत्रको दिगो विकासका लागि जलवायु परिवर्तन अनुकुलन र न्यूनिकरणलाई एउटा प्रमुख विषयको रूपमा समावेश गरेको छ । नेपालमा जलवायुमैत्री कृषिको प्रबर्धन तथा विस्तार बाट स्थानीय ज्ञान, सीप र प्रविधिहरूको उचित व्यवस्थापन गर्न सकिने, स्थानीय स्रोतको सहि तथा दिगो परिचालन हुने, स्थानीय स्वरोजगारको सृजना गर्न सकिने, कृषि उत्पादनको लागत कम गर्न सकिने र कृषि प्रणालीको दिगो व्यवस्थापन गर्न सकिने सम्भावनाहरूलाई व्यवहारमा उतार्न सकिन्छ ।

 

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रले सामना गर्नु पर्ने चुनौती र यसको समाधान नखोजी आधुनिक कृषि पद्धति अपनाउँदा प्रति एकाई उत्पादनको लागत बढ्दछ । नेपालमा साना तथा मझौला कृषकहरूको संख्या बढी भएकोले प्रति एकाई कृषि उत्पादन गर्दा बढ्ने लागतले झन कृषकहरूको आर्थिक अवस्थामा थप चुनौती बढ्न सक्छ । यस्तो प्रकारको चुनौतीको सम्बोधन गर्नका लागि स्थान विशेष, कृषकहरूको क्षमतामा आधारित र स्थानीय स्रोतको सही उपयोग हुने कृषि प्रबिधि अवलम्बन गर्नु आवश्यक हुन्छ ।खाद्य तथा कृषि संगठन (FAO) का अनुसार, जलवायु उत्थानशील कृषिलाई जलवायु र चरम मौसममा हुने परिवर्तनको प्रभावको पूर्वानुमान गरी यसको असको असर कम गर्न आवश्यक तयारी गर्ने, अनुकूलन (Adaptation) गर्ने, अवशोषित (Absorb) गर्ने र पुनःप्राप्ति (Recover) गर्ने प्रणालीको क्षमता“ भनेर परिभाषित गरिएको छ ।

 

२ जलवायु उत्थानशील कृषिका प्रमुख उद्देश्यहरू

 

  • जलवायु परिवर्तनको जोखिम कम गर्ने ।
  • कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा सुधार गर्ने ।
  • माटो, पानी, वोटविरुवा लगायतका प्राकृतिक स्रोतहरुको संरक्षण गर्ने ।
  • कृषकको जीविकोपार्जन र आय आर्जनमा सुधार गर्ने ।
  • परिवर्तित वातावरण अनुकूलन पद्दति स्थापित गरी जोखिम न्यूनीकरण गर्न सहयोग गर्ने ।

 

३ जलवायु उत्थानशील कृषिका प्रमुख स्तम्भहरु

 

  • दिगोपना कायम गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि ।
  • जलवायु अनुकूलन कृषि प्रणालीको अवलम्वन ।
  • जलवायु पविर्तनका कारण कृषक र कृषि क्षेत्रमा पर्ने जोखिम न्यूनीकरण ।

 

$ जलवायु परिवर्तन कारण कृषि क्षेत्रमा देखापरेका चुनौति तथा असरहरु

 

चुनौतिहरु

 

  • कृषि प्रसारमा संलग्न कृषि प्राविधिकहरू र कृषकहरूमा पर्याप्त मात्रामा जलवायु अनुकुलन र न्यूनिकरण सम्बन्धि प्रविधिक ज्ञान नभएको । यसले गर्दा कुनै पनि प्रभाव जलवायु परिवर्तनको कारणले परेको हो या होइन भनि निर्धारण गर्न कठिन भएको ।
  • जलवायु अनुकुलन र न्यूनिकरणको कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि आर्थिक तथा प्राविधिक श्रोतहरूको कमि भएको ।
  • जलवायु अनुकुलन तथा न्यूनिकरणका लागि तयार गरिएका कार्ययोजनाहरूको समयमै कार्यान्वयन गर्न नसकिएको ।
  • जिल्ला तथा स्थानीय सरकारस्तरका बार्षिक विकासको कार्यक्रममा कृषि क्षेत्रको अनुकुलनका लागि अति कम बजेट विनियोजन भएको र अधिकांस बजेट परम्परागत विकास निर्माणमा जाने गरेको ।
  • जिल्ला तथा स्थानीय सरकारस्तरमा सञ्चालन गरिदै आएका कार्यक्रमहरूको प्रभावकारी रूपमा अनुगमन हुन नसकेको ।
  • जलवायु अनुकुलन र न्यूनिकरणका कार्यक्रमहरू क्षणिक समयका लागि मात्र सञ्चालन हुने गरेको हुदा कार्यक्रमहरूको प्रभावकारिता दिगो हुन नसकेको ।
  • जलबायु अनुकुलन तथा न्यूनिकरण सम्बन्धी कार्यक्रमहरू विभिन्न सरकारी तथा गैर सरकारी निकायले (जस्तैः कृषि, वन, भुसंरक्षण, सिँचाई, र गैर सरकारी संस्थाहरू) सञ्चालन गरेका तर उनीहरू बीच पर्याप्त समन्वय नभएकोले कार्यक्रमहरू दोहारिने गरेको ।
  • जलवायु परिवर्तन सम्बन्धी कार्यक्रममा सामाजिक जवाफदेहिताका औजारहरूको प्रयोग न्यून भएको ।
  • कार्यक्रमहरू विपन्न र संकटासन्न समुदायमा पुग्न नसकेको ।

असरहरू

  • असामान्य खडेरी, अतिवर्षा, बाढी र पैह्रो जाने क्रम बढ्दो।
  • माटोको उर्वराशक्तिमा ह्रास आउने ।
  • बालीचक्रमा परिवर्तन र कृषि उत्पादनमा अनिश्चितता हुने ।
  • कृषि बालिमा नयाँ, नयाँ रोग तथा कीराको प्रकोप देखापर्ने ।
  • नदि तथा खोला, खोल्सामा पानीको मात्रा घट्नु र सिंचाइ प्रणाली कमजोर हुनु ।
  • जलसतह घट्दै जानु ।
  • पशुपंक्षिमा नयाँ रोग देखिने र गर्मी तथा जाडो सहनशिल क्षमता कम हुने ।

 

५ जलवायु उत्थानशील कृषिका केही प्रमुख विधिहरू

 

५.१ उत्पादन व्यवस्थापन

 

  • सूख्खा तथा बाढी सहन गर्न सक्ने, अधिक उत्पादन दिने र जलवायु अनुकुलन जातका बीउको प्रयोग गर्ने ।
  • समयानुकुल बाली चक्र परिवर्तन (Crop rotation) गर्ने ।
  • मिश्रित खेती र बहुउपयोगी बाली लगाउने ।
  • मलचिङ लगायत माटोलाई ढाक्ने अन्य प्रविधिको प्रयोग गर्ने ।
  • जैविक तथा कम्पोस्ट मलको प्रयोग वढाउने ।
  • माटो परीक्षण शिविर संचालन र माटो उपचार ।
  • IPM गतिविधिहरू संचालन गर्ने ।

 

५.२ जल तथा सिंचाइ व्यवस्थापन

 

  • पानी कम खपत हुने ड्रिप तथा स्प्रिंकलर सिंचाइ प्रणाली अवलम्वन गर्ने ।
  • वर्षाको पानी संकलन गर्ने प्रणालीको विकास गरी सिंचाइ सुविधा विस्तार गर्ने ।
  • प्लास्टिक घर, पोखरी निर्माण, पानी संकलन स्थल र साना सिंचाई सम्बन्धी प्रविधिको बिस्तार गर्ने ।
  • भू तथा जलाधार संरक्षणमा नागरिक सहभागिता वृद्दि गर्ने ।
  • सामुदायिक सिँचाइ पद्दति अवलम्वन गर्ने ।
  • बाढी नियन्त्रणको लागि बायो-इन्जिनियरिङ विधिको अवलम्बन गर्ने र ग्याबियन पर्खाल लगाउने।

 

५.३ माटो संरक्षण र गुणस्तर सुधार

 

  • गह्रा सुधार तथा भूक्षय न्यूनीकरण (Terracing) गर्ने ।
  • वृक्षारोपण गर्ने, भूई÷डाले घाँस लगाउने ।
  • अधिक मात्रामा हरियो मलको प्रयोग र जैविक विविधताको अवधारणा अवलम्वन गर्ने ।
  • माटो परीक्षण, रोकथाम र नियन्त्रणको लागि तटबन्ध निर्माण गर्ने ।

 

५.४ पशुपालनमा सुधार

 

  • रोगप्रतिरोधी जातका पशु पक्षिको छनोट गर्ने ।
  • चरन व्यवस्थापन गर्ने ।
  • गोठ सुधार र फोहोरमैला व्यवस्थापन गर्ने ।
  • पशु स्वास्थ्य शिविर सचालन गर्ने ।

 

५.५ नविन प्रविधि, ज्ञान र सीपको व्यवस्थापन

 

(१)    मौसम परिवर्तन, रोग किराको प्रकोप, स्थानीयस्तरमा कृषि श्रमिकको उपलब्धता, कृषि उपजको    मूल्यमा आउने उतारचढाव जस्ता उत्पादनका जोखिमहरूको सामना गर्न सक्ने कृषि प्रविधिको   विकास र विस्तार गर्ने ।

(२)    जैविक खेती र पर्यावरणमैत्री प्रविधिको अवलम्बन र विस्तार गर्ने ।

(३)    जलवायु परिवर्तनका कारण कृषि उत्पादन र खाद्य सुरक्षामा पर्न सक्ने असरलाई कम गर्ने ।

(४)    स्थानीय क्षमतामा आधारित पूर्व सूचना प्रणाली, मौसम पूर्वानुमान र चेतावनी प्रणाली संचालन    गर्ने ।

(५)    कृषि सूचना प्रवाह र कृषक सशक्तीकरण कार्यक्रम संचालन गर्ने ।

(६)    स्थानीय ज्ञान, सीप र क्षमताको खोज, संयोजन तथा उपयोग गर्ने ।

(७)    मौसम पूवाानुमान प्रणाली मार्फत वास्तविक मौसम डाटा (real time data) प्राप्ति स्टेशनहरू र    मौसम पूर्वानुमान प्रणाली स्थापना गर्न सहयोग गर्ने ।

(८)    उपयुक्त खेत जोत्ने विधिहरू (tillage practices), पानी व्यवस्थापन र सिँचाइ, वृक्षारोपण, कृषि वन, घाँस तथा चरन व्यवस्थापन जस्ता अभ्यासहरू वाट माटोको ओसिलोपन संरक्षण गर्ने ।

 

६ जलवायु उत्थानशील कृषि प्रवद्र्धनका रणनीतिहरू

 

६.१ कृषि र जलवायु अनुकुलन सम्बन्धी वहुसरोकारका नीतिहरु बीच सामन्जस्यता कायम गर्ने ।

६.२ स्थानीय तहले जलवायुमैत्री कृषि विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्ने ।

६.३ कृषक समूह, सहकारी तथा स्थानीयस्तरमा कार्यरत कृषि प्राविधिकहरुको क्षमता विकास गर्ने ।

६.४ कृषि तथा पशु विमा कार्यक्रम, कृषिमा प्रभावकारी अनुदान, हरित अर्थतन्त्र (Green Economy) जस्ता   वित्तीय सुधार सम्बन्धी कार्यक्रम संचालन गर्ने ।

६.५ बायोग्यास (गोबरग्यास) प्रणालीको विस्तार गर्ने ।

६.६ रिचार्ज पोखरी निर्माण गर्ने ।

 

७ नेपालमा जलवायु उत्थानशील कृषि गर्न सकिने केही उदाहरणहरु

 

  • धान खेतमा माछा पालन (एकीकृत प्रणाली) ।
  • हिमाली तथा पहाडी क्षेत्रमा मा आलु-जौ-गहुँको मिश्रीत खेती प्रणाली ।
  • तराई तथा समथर क्षेत्रमा सुख्खा सहन गर्नसक्ने जातको धान (जस्तैः Hardinath-1, Sukkha dhan series) खेती गर्ने ।
  • जैविक मल, माटो संरक्षण, र वर्षाको पानी संकलन प्रविधि प्रयोग गर्ने ।

 

८. खाद्य सुरक्षा

 

८.१ परिचय

खाद्य सुरक्षा एक बहु आयामिक विषय हो । सामान्यतया खाद्य सुरक्षालाई सफा र प्रयाप्त खाद्यान्नको उपलब्धतासँग जोडेर हेर्ने गरेको पाईन्छ । तर पोषण तथा खाद्य सुरक्षा खाद्यान्नको प्रयाप्ततासँग मात्र जोडिएको विषय नभई यो खाद्यान्नमा हुने भौतिक तथा आर्थिक पहुँच र खाद्यान्नको उपयोग सम्बन्धि मानविय व्यवहारसँग पनि सम्बन्धित छ । तसर्थ सक्रिय र स्वस्थ मानव जीवनका लागि चाहिने आवश्यक, सफा, सुरक्षित, पोषणयुक्त खाद्यान्नमा सबैको पहुँच सुनिश्चित भएको अवस्थालाई पोषण तथा खाद्य सुरक्षाको अवस्था भनिन्छ । खाद्य सुरक्षा अल्पकालिन र दीर्घकालिन दुवै प्रकृतिको हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार “प्राकृतिक तथा दिगो प्रक्रियाद्वारा खाद्यान्नको उत्पादन र सम्मानजनक वितरणको अवस्थालाई खाद्य सुरक्षा भनिन्छ ।” प्रत्येक व्यक्तिको सधै पर्याप्त, स्वच्छ तथा पोषणयुक्त र आफ्नो आवश्यकता र चाहना अनुरूपको खाना माथि भौतिक र आर्थिक पहूच भएमा मात्र खाद्य सुरक्षा भएको मान्न सकिन्छ । तथापि सामान्य अर्थमा खाद्य सुरक्षा भन्नाले सबै मानिसले पर्याप्त, पौष्टिक, सुरक्षित र पहुँचयोग्य खाना प्राप्त गर्ने अवस्था हो ।

 

खाद्य तथा कृषि संगठन (FAO) का अनुसार, खाद्य सुरक्षा देहायका चार स्तम्भमा आधारित हुन्छ ।

 

१.     उपलब्धता (Availability) – पर्याप्त खाना उत्पादन वा आपूर्ति हुनु ।

२.     पहुँच (Accessibility) – सबैलाई खाना किन्न वा प्राप्त गर्न सक्ने अवस्था हुनु ।

३.     प्रयोग (Utilization) पौष्टिक खाना उचित तरिकाले खान र प्रयोग गर्न सक्ने स्थिति हुनु ।

४.     स्थायित्व (Stability) – निरन्तर रुपमा खानाको आपूर्ति हुनु र खानामा पहुँच कायम रहनु ।

 

.२ नेपालमा खाद्य सुरक्षाका चुनौतीहरू

  • जलवायु परिवर्तन र प्राकृतिक विपद्,
  • कृषियोग्य भूमि घट्दै जानु,
  • कृषि उत्पादन र उत्पादकत्वमा कमी आउनु,
  • कृषकहरु वैकल्पिक रोजगारीका लागि विदेश जाने प्रवृत्ति वढ्नु,
  • खाद्यान्नको भण्डारण र वितरण प्रणाली कमजोर हुनु ।

 

.३ खाद्य सुरक्षा सुनिश्चित गर्ने उपायहरू

  • स्थानीय कृषि उत्पादन प्रणालीको सुदृढीकरण,
  • कृषि अनुसन्धान र उपयुक्त प्रविधिको विकास तथा विस्तार,
  • सिँचाइ सुविधा र कृषि कर्मलाई सहयोगी पूर्वाधार विकास तथा विस्तार,
  • मल, बीउ र पशु, पंक्षिको आहारको सहज आपूर्ती र कृषकको पहुँच वृद्धि,
  • खाद्य भण्डारण र कृषकमैत्री बजार प्रणालीको विकास,
  • समुदायमा आधारित खाद्य भण्डारण र सहकारी प्रणालीको विकास तथा सुदृढीकरण,
  • जैविक विविधता संरक्षणको लागि सामुदायिक बीउ बैंकहरूलाई सहयोग ।

 

.४ खाद्य सुरक्षाको लागि ऊर्जाः

नेपालले हालैका वर्षहरूमा खाद्य सुरक्षामा सुधार गरेको भए तापनि ४६ लाख मानिसहरू अझै पनि खाद्य असुरक्षित रहेको अनुमान गरिएको छ । यद्यपि, दुर्गम ग्रामीण क्षेत्रहरू विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा गम्भीर खाद्य सुरक्षाको अवस्था कमजोर छ । यहाँ वर्षभरिको लागि पर्याप्त खाद्यान्न उत्पादन हुदैन । यहाँका मानिसहरु वर्षमा ९ महिनाभन्दा बढी समयसम्म आफ्नो खाद्य आवश्यकता पूरा गर्न आम्दानीका अन्य स्रोतहरूमा निर्भर रहन वाध्य छन् । नेपालमा खाद्य सुरक्षा कमजोर हुनुमा खडेरी, बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोप र ऊर्जा लगायत कमजोर पूर्वाधार मुख्य कारक रहेका छन् । फलफूल र तरकारी जस्ता उच्च मूल्यका कृषि वाली उत्पादन गर्न नवीकरणीय उर्जाको प्रयोग गरी पानी लिफ्टिङको व्यवस्था गर्न सकिन्छ । त्यसैगरी, ऊर्जाद्वारा संचालित भण्डारण र ह्यान्डलिङ (जस्तै रेफ्रिजरेसन, सुकाउने, र प्याकेजिङ) ले उत्पादन पछिको खाद्य क्षतिलाई कम गर्छ ।

 

स्थानीय तहले गर्नु पर्ने कार्यहरु

(१) स्थानीय तहले जलवायु उत्थानशील कृषि सम्बन्धी नीति तर्जुमा गरी यसलाई स्थानीय तहको             समग्र शासकीय प्रक्रियामा मूलप्रवाहीकरण गर्नु पर्दछ । यस्तो नीति अन्य विषयगत क्षेत्रहरुसंग   समेत सम्बन्धित रहन सक्ने हुदा आवधिक तथा वार्षिक योजना, बजेट र संस्थागत    संरचनाहरुमा   समेत यस नीतिलाई मूलप्रवाहीकरण गर्ने ।

(२) जलवायु उत्थानशील कृषि व्यबसायको प्रवद्र्धन गर्न विपन्न तथा सिमान्तकृत वर्ग, साना किसान,           महिला र युवा कृषि उद्यमीहरुलाई उनिहरुको आवश्यकता अनुसार सीप तथा क्षमता विकास     तालिम दिने ।

(३) स्थानीय रैथाने वालीको संरक्षण, प्रवर्धन, विकास र विस्तार गर्ने ।

(४) अर्गानीक खेति प्रणालीको विस्तार र उत्पादित कृषि उपजको बजारीकरणमा समन्वय र      सहजीकरण गर्ने ।

(५) सडक किनारामा रूख रोप्ने, घर–घरमा हरियो छाना जडान गर्ने जस्ता भवन सुधारहरूको     संयोजन गर्ने ।

(६) जलवायु परिवर्तनले विशेष गरी सीमान्तकृत र विपन्न समुदायलाई असर गर्ने र यसवाट    असमानताको खाडल वढ्न सक्ने हुदा विपन्न र सीमान्तकृत वर्गलाई ध्यानमा राखि यस्तो कार्यक्रम   संचालन गर्ने ।

 

१०. निष्कर्ष

  • जलवायु उत्थानशील कृषि नेपालको दीगो विकासको आधार हो । यसले कृषि उत्पादन बढाउनको साथै पर्यावरण संरक्षण, खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनलाई समेत सुदृढ गर्न मद्दत गर्दछ ।
  • संघ, प्रदेश र स्थानीय तहका सरकार, कृषि विज्ञ र कृषक÷समूहबीच सहयोग, समन्वय र सहकार्य वाट मात्र यो कार्य सम्भव हुन सक्दछ ।