सत्र १५: समयः ९० मिनेट

संस्थागत व्यवस्था, भूमिका र जिम्मेवारी

यस प्रारुपको कार्यान्वयनको लागि देहाय बमोजिमको संस्थागत व्यवस्था गरिएको छ

1 वातावरणमैत्री स्थानीय शासन राष्ट्रिय समन्वय समिति

यस प्रारुपको उद्देश्य प्राप्तिका लागि आवश्यक नीतिगत निर्देशन, समन्वय र सहजीकरणका लागि देहाय बमोजिमको राष्ट्रिय समन्वय समिति रहनेछ:

        सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय                    अध्यक्ष

        सहसचिव, राष्ट्रिय योजना आयोग                                         सदस्य

        सहसचिव, अर्थ मन्त्रालय                                                 सदस्य

सहसचिव, शहरी विकास मन्त्रालय                                         सदस्य

        सहसचिव, वन तथा वातावरण मन्त्रालय                                   सदस्य

        सहसचिव, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय                             सदस्य

        सहसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय                        सदस्य

        सहसचिव, खानेपानी मन्त्रालय                                           सदस्य

        सहसचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय        सदस्य

        प्रमुख, जिल्ला समन्वय समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ तथा

        गाउँपालिका राष्ट्रिय महासङ्घ                                       सदस्य

        सहसचिव, योजना तथा विकास सहायता समन्वय महाशाखा,

        सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय                            सदस्य सचिव

 

यस समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

  • वातावरणमैत्री स्थानीय शासन कार्यक्रमहरूमा दोहोरोपना आउन नदिन नेपाल सरकारका विषयगत मन्त्रालय/निकाय, विकास साझेदार तथा राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई नीतिगत निर्देशन तथा समन्वय गर्ने,
  • वातावरणमैत्री जिल्ला, गाउँ तथा नगर घोषणा गर्न सहमति प्रदान गर्ने,
  • समग्र कार्यक्रमको समीक्षा गरी आवश्यक निर्देशन दिने,
  • यस प्रारुपमा उल्लिखित सूचकहरुलाई स्थानीय तहको विकास योजनामा मूलप्रवाहीकरण गर्न समन्वय तथा सहजीकरण गर्ने।
  • कुनै स्थानीय तहले विशिष्ट सूचक समावेश गर्न स्वीकृतिका लागि माग गरेमा उपयुक्तता हेरी सहमति प्रदान गर्ने।
  • वातावरणमैत्री जिल्ला, नगर र गाउँपालिकालाई पुरस्कृत र प्रोत्साहित गर्न उपयुक्त नीति तथा कार्यक्रम नेपाल सरकार समक्ष सिफारिस गर्ने।
  • यस प्रारुपको कार्यान्वयनका लागि आवश्यकता अनुसारका अन्य कार्यहरु गर्ने।

  1. वातावरणमैत्री स्थानीय शासन जिल्ला समन्वय समिति

वातावरणमैत्री स्थानीय शासन सम्बन्धी क्रियाकलापहरुको जिल्लास्तरमा गरिने मूल्याङ्कन, समन्वय र सहजीकरणका लागि देहाय बमोजिमको वातावरणमैत्री स्थानीय शासन जिल्ला समन्वय समिति रहनेछ:

प्रमुख, जिल्ला समन्वय समिति                                      अध्यक्ष

जिल्लाभित्रका गाउँ/नगरपालिकाका अध्यक्ष/प्रमुख                          सदस्य

प्रमुख जिल्ला अधिकारी                                            सदस्य

जिल्ला प्रहरी प्रमुख                                               सदस्य

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख                        सदस्य

डिभिजन वन अधिकृत                                             सदस्य

जिल्ला शिक्षा विकास तथा समन्वय एकाई प्रमुख                         सदस्य

स्वास्थ्य कार्यालय प्रमुख                                            सदस्य

अध्यक्ष, जिल्ला उद्योग वाणिज्य सङ्घ                                सदस्य

अध्यक्ष, गैरसरकारी संस्था महासङ्घ जिल्ला समिति                       सदस्य

जिल्ला समन्वय अधिकारी                                   सदस्य सचिव

भू-संरक्षण कार्यालय एवम् राष्ट्रिय निकुञ्ज तथा आरक्ष पर्ने जिल्लामा उक्त निकायका प्रमुखलाई सदस्यको रूपमा आमन्त्रित गर्नु पर्नेछ।

यस समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

  • जिल्लामा सञ्चालन हुने वातावरण संरक्षण, विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन र फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यक्रमहरूको समन्वय, अनुगमन, मूल्याङ्कन तथा समीक्षा गर्ने,
  • गाउँपालिका तथा नगरपालिकालाई वातावरणमैत्री बनाउन सहयोग, समन्वय तथा सहजीकरण गर्ने।
  • आधारभूत सूचक हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई वातावरणमैत्री घोषणा गर्न सिफारिस गर्ने,
  • जिल्ला भित्रका वातावरणमैत्री घरपरिवार, टोल, वडा तथा गाउँपालिका एवम् नगरपालिका सम्बन्धी विवरण त्रैमासिक रूपमा वातावरणमैत्री स्थानीय शासन राष्ट्रिय समन्वय समिति समक्ष पठाउने,
  • जिल्लास्थित कार्यालयको अनुगमन मापन गरी सूचक पूरा गर्नेलाई वातावरणमैत्री कार्यालयको लोगो तथा कदरपत्र प्रदान गर्ने,
  • परिस्कृत सूचक हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई तारासहितको लोगो प्रदान गर्ने,
  • जिल्लालाई वातावरणमैत्री घोषणा गर्न आवश्यक कार्यहरू गर्ने, गराउने।

 

  1. वातावरणमैत्री स्थानीय शासन गाउँ/नगर समन्वय समिति

वातावरणमैत्री स्थानीय शासनको प्रारुपको कार्यान्वयनका लागि गाउँ/नगरपालिकामा देहाय बमोजिमको गाउँ/नगर समन्वय समिति रहनेछ:

नगरप्रमुख÷गाउँपालिका अध्यक्ष                                             अध्यक्ष

प्रमुख प्रशासकीय अधिकृत                                                 सदस्य

जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि                                        सदस्य

अधिकृत प्रतिनिधि,जिल्ला समन्वय समिति                                    सदस्य

नेपाल प्रहरी, स्थानीय एकाई प्रमुख                                                  सदस्य

खानेपानी तथा सरसफाई शाखाप्रमुख                                                 सदस्य

शिक्षा शाखा प्रमुख                                                              सदस्य

स्वास्थ्य शाखा प्रमुख                                                    सदस्य

महिला तथा बालबालिका शाखा प्रमुख                                         सदस्य

सामुदायिक विद्यालयका प्रधानाध्यापक मध्येबाट तीनजना                         सदस्य

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मध्येबाट दुईजना                      सदस्य

सामुदायिक संस्थाका प्रमुख मध्येबाट पाँचजना                                         सदस्य

गाउँ/नगरपालिकास्तरीय उद्योग वाणिज्य सङ्‍घका प्रमुख                                 सदस्य

गैरसरकारी संस्थास्थानीय समन्वय समितिका प्रमुख                              सदस्य

वातावरणतथा विपद् व्यवस्थापन महाशाखा/शाखा प्रमुख                           सदस्य सचिव

यस समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

  • स्थानीय तहमा सञ्चालन हुने वातावरण संरक्षण, विपद व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, शहरी विकास तथा भूउपयोग योजना र फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन, समन्वय, अनुगमन, मूल्याङ्कन तथा समीक्षा गर्ने,
  • वडालाई वातावरणमैत्री बनाउन आवश्यक क्षमता विकास तथा सहयोग, समन्वय र सहजीकरण गर्ने,
  • वडालाई वातावरणमैत्री घोषणा गर्ने तथा घर परिवार र टोललाई वातावरणमैत्री घोषणा गर्न सहमती प्रदान गर्ने,
  • वातावरणमैत्री गाउँपालिका÷नगरपालिका घोषणा गर्न सिफारिस गर्ने,
  • वातावरणमैत्री घरपरिवार, टोल तथा वडा सम्बन्धी विवरण त्रैमासिक रुपमा वातावरणमैत्री स्थानीय शासन जिल्ला समन्वय समिति र राष्ट्रिय समन्वय समिति समक्ष पठाउने,
  • वातावरणमैत्री टोल एवम् वडालाई पुरस्कृत र प्रोत्साहन गर्न सिफारिस गर्ने,
  • परिस्कृत सूचक हासिल गर्ने वडालाई तारासहितको लोगो प्रदान गर्ने,
  • गाउँपालिका तथा नगरपालिकाको विशिष्टताका आधारमा थप सूचक समावेश गर्नु पर्ने भए सहमतिका लागि वातावरणमैत्री स्थानीय शासन जिल्ला समन्वय समिति मार्फत राष्ट्रिय समन्वय समिति समक्ष अनुरोध गर्ने,
  • स्थानीय तहलाई पूर्णरुपमा वातावरणमैत्री बनाउन आवश्यक अन्य कार्यहरू गर्ने।

४. वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समिति

वातावरणमैत्री स्थानीय शासनको प्रारुपको कार्यान्वयनका लागि गाउँ/नगर पालिकाको वडा तहमा देहाय बमोजिमको वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समिति रहनेछ:

वडा अध्यक्ष                                                            अध्यक्ष

वडा सदस्यहरु                                                           सदस्य

नेपाल प्रहरी, स्थानीय एकाई प्रमुख                                                 सदस्य

सामुदायिक विद्यालयका प्रधानाध्यापक मध्येबाट एकजना                         सदस्य

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मध्येबाट एकजना                           सदस्य

सामुदायिक संस्थाका प्रमुख मध्येबाट दुईजना                                         सदस्य

क्रियाशिल गैरसरकारी संस्थाका स्थानीय प्रतिनिधि                              सदस्य

वडा सचिव                                                        सदस्य सचिव

यस समितिको काम, कर्तव्य, अधिकार एवं जिम्मेवारी देहाय बमोजिम हुनेछः

  • वडा तहमा सञ्चालन हुने वातावरण संरक्षण, विपद् व्यवस्थापन, भूउपयोग योजना कार्यान्वयन, जलवायू परिवर्तन अनुकूलन र फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन, समन्वय, अनुगमन, मूल्याङ्कन तथा समीक्षा गर्ने,
  • घर परिवार र टोललाई वातावरणमैत्री बनाउन आवश्यक क्षमता विकास, सहयोग, समन्वय तथा सहजीकरण गर्ने,
  • आधारभूत सूचक पूरा गर्ने घर परिवार र टोललाई वातावरणमैत्री घोषणा गर्ने,
  • वातावरणमैत्री वडा घोषणा गर्न गाउँपालिका तथा नगरपालिका समक्ष सिफारिस गर्ने,
  • परिस्कृत सूचक हासिल गर्ने घर परिवार तथा टोललाई तारासहितको लोगो प्रदान गर्ने,
  • वातावरणमैत्री घरपरिवार, टोलको विवरण त्रैमासिक रूपमा गाउँपालिका/नगरपालिकामा पठाउने,
  • वातावरणमैत्री घर परिवार एवम् टोललाई पुरस्कृत र प्रोत्साहन गर्न सिफारिस गर्ने,
  • वडालाई वातावरणमैत्री बनाउन आवश्यक अन्य कार्यहरू गर्ने।

 

 

५ कार्यान्वयन रणनीति, कार्यनीति/प्रक्रिया

१.रणनीति 

  • सन्नीकटताको सिद्धान्तको आधारमा स्थानीय तहको नेतृत्वमा वातावरण संरक्षण सम्बन्धी कार्यसञ्चालन गर्न प्रोत्साहित गर्ने।
  • सबै तहका लागि निर्धारित सूचकहरुको प्राप्तिमा सकारात्मक प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने।
  • वातावरणमैत्री स्थानीय शासन प्रारुपका विषयहरुलाई स्थानीय योजना प्रक्रियामा मूलप्रवाहीकरण गर्ने।
  • सबै तहको संस्थागत क्षमता विकास गरी सूचकहरु हासिल गर्न सघाउ पुर्‍याउने।
  • सूचना, शिक्षा र सञ्चारको माध्यमबाट सामाजिक व्यवहारमा परिवर्तन गर्ने।
  • सरोकारवालाहरु बीचको समन्वय र सहकार्यमा जोड दिने।
  • अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषणका आधारमा निरन्तर सुधार गर्ने।

२. कार्यान्वयन प्रक्रिया

  1. प्रचारप्रसार

श्रव्य-दृष्य, छापा, सामाजिक सञ्जाल एवम् अन्य उपयुक्त सञ्चार माध्यमबाट सन्देशमूलक सूचना प्रचारप्रसार गरी घरपरिवारलाई आफ्नो घर तथा टोल बस्तीलाई आफ्नो टोल बस्ती एवम् समग्र गाउँ तथा नगरपालिकालाई वातावरणमैत्री बनाउन प्रेरित गरिनेछ। यस्ता सूचनामूलक सामग्री सरल भाषामा तयार गरी स्थानीय समुदायसम्म पुर्‍याईनेछ। साथै सरोकारवालाहरूलाई यस अवधारणाको बारेमा अभिमुखीकरण गरिनेछ। यस्तो अभिमुखीकरण हरेक समुदाय, विद्यालय तथा गाउँमा समेत सञ्चालन गरिनेछ।

 

  1. आधार तथ्याङ्क सङ्कलन, विश्लेषण तथा अद्यावधिक

स्थानीय तहले यस प्रारूप बमोजिमका सूचकहरुको अवस्थाको विवरण सङ्कलन गर्न आवश्यकता अनुसार फारामहरूको विकास गर्नु पर्नेछ। सङ्कलन भएका विवरणका आधारमा सूचकहरुको अवस्था नियमित रुपमा अद्यावधिक गरी सो सम्बन्धी वार्षिक उपलब्धि प्रतिवेदन समेत तयार गर्नु पर्नेछ। यसरी तयार भएको प्रतिवेदन सबैको जानकारीका लागि कार्यालयको वेबसाइट मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

  1. संस्थागत व्यवस्था

यस प्रारूप बमोजिम जिल्ला तहमा वातावरणमैत्री स्थानीय शासन जिल्ला समन्वय समितिनगरपालिकाहरूमा वातावरणमैत्री स्थानीय शासन नगर समन्वय समिति, गाउँपालिकाहरूमा वातावरणमैत्री स्थानीय शासन गाउँ समन्वय समिति र गाउँ तथा नगरका वडामा वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समिति गठन गर्नु पर्नेछ।

विभिन्न तहमा क्रियाशील रहेका वातावरण संरक्षण, फोहरमैला व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन तथा विपद् व्यवस्थापनसँग सम्बन्धित क्षेत्रमा काम गर्ने सबै सङ्‍घसंस्थालाई यस प्रारूप बमोजिमका सूचकहरू प्राप्त गर्नेगरी परिचालन र समन्वय गर्ने कार्य सम्बन्धित वातावरणमैत्री स्थानीय शासन वडा, गाउँ/नगर तथा जिल्ला समन्वय समितिले गर्नेछन्।

  1. क्षमता विकास

() टोलसमुदाय तह

  • गाउँपालिका/नगरपालिका भित्र कार्यरत सामाजिक परिचालकहरुको कार्य जिम्मेवारी र भूमिका थप गरी वातावरणमैत्री स्थानीय शासनको प्रारुप सम्बन्धी विषयमा समुदायको क्षमता अभिवृद्धिका लागि परिचालन गर्नु पर्नेछ।
  • टोल विकास संस्था÷टोल सुधार समितिका सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविका, आमा समुह, युवा क्लब तथा वन उपभोक्ता समूह जस्ता सामुदायिक संस्थाहरुलाई वातावरणमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखिकरण तथा क्षमता विकासका लागि तालिमहरु सञ्चालन गर्नु पर्नेछ।
  • समुदाय÷टोल एवम् वडाहरूमा वातावरणमैत्री स्थानीय शासनबारे प्रचार÷प्रसार र अन्य जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्नेछ।
  • अगुवा कृषकहरूमार्फत प्राङ्गारिक खेती, उन्नत खेती, खेतबारी संरक्षण तथा रासायनिक विषादीको नकारात्मक असर बारे कृषकहरुलाई प्रदर्शनी÷चेतना जागरण र सीप प्रदान गर्ने÷गराउने जस्ता क्रियाकलाप सञ्चालन गर्नु पर्नेछ।

क्षमता विकास सम्बन्धी उपरोक्त क्रियाकलापहरु वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समिति मार्फत सञ्चालन गर्न उपयुक्त हुन्छ।

() वडा तह

वडा भित्रका महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लब, विद्यालयका सम्बन्धित विषय शिक्षक तथा सामाजिक परिचालकहरूलार्ई वातावरणमैत्री स्थानीय शासनको अवधारणा, घरपरिवार तथा वडा तहका सूचकहरू, सूचक हासिल गर्ने विधि र प्रक्रिया, मापन गर्ने विधि र प्रक्रियाबारे सम्बन्धित वडा वा गाउँपालिका/नगरपालिकाले आफै वा वडाको अगुवाइमा अभिमुखीकरण गर्नु पर्नेछ।

 

() गाउँपालिका/नगरपालिका तह

  • गाउँपालिका/नगरपालिकामा वातावरण तथा विपद् व्यवस्थापन विषय हेर्ने शाखा, महाशाखाले यस प्रारुपको कार्यान्वयन जिम्मेवारी निर्वाह गर्नु पर्नेछ। छुट्टै शाखा वा एकाई नभएको अवस्थामा विद्यमान संरचनामा रहेको सरसफाई वा फोहरमैला व्यवस्थापन शाखा वा अन्य उपयुक्त शाखाको कार्य विवरण अद्यावधिक गराई वातावरणमैत्री स्थानीय शासनसम्बन्धी कार्यहरूको जिम्मेवारीसमेत थप गर्नु पर्नेछ।
  • वातावरणमैत्री स्थानीय शासन क्षेत्रमा काम गर्ने कर्मचारीहरूलार्ई वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन, वातावरणीय अध्ययन प्रतिवेदन तथा भवन निर्माण संहिता जस्ता विषयमा समेत क्षमता विकास तालिम प्रदान गर्नु पर्नेछ।
  • गाउँपालिका/नगरपालिकाका वडा एव‌म् टोलहरू, सामुदायिक संस्था तथा टोल विकास संस्थाहरुको लागि क्षमता विकासका कार्यहरू सञ्चालन गर्नु पर्नेछ।

 

तहगत खुड्किलाहरु:

नगर क्षेत्रमा घर परिवार तह, टोल विकास सस्था तह/समुदाय तह, वडा तह पालिका तह

गाउँपालिका क्षेत्रमा घर परिवार तह,  वडा तह  पालिका तह ।

जिल्ला तह सामुहिक रुपमा ।