समयः ९० मिनेट

१. साझेदार संस्था र सरोकारवालाको परिभाषा

साझेदार भनेको कुनै संस्था, कार्यक्रम, निकाय वा आयोजना÷परियोजना संचालन र व्यवस्थापन सम्बन्धी कुनै कार्यको जिम्मेवारी लिने, निर्णय गर्ने, सहयोग र साझेदारी गर्ने वा सम्बन्धित गतिविधिहरूमा निहित स्वार्थ वा भूमिका भएको व्यक्ति, समूह वा संस्था हो । सरोकारवालाहरू आफ्नो स्वार्थ मिल्ने वा भूमिका भएको संस्थाका सदस्य हुन सक्छन् । कानूनद्वारा निश्चित जिम्मेवारी तोकिएका मन्त्रालय, आयोग, विभाग, सरकारी कार्यालय वा गैर सरकारी संघ, संस्थाहरु कतिपय विषय वा क्षेत्रका साझेदार संस्थाहरु हुन सक्दछन् ।

सामान्य अर्थमा भन्दा साझेदार संस्था भनेको यस्तो कार्यालय, संस्था, निकाय (वा व्यक्ति) हो जसले देहायका विषयमा निश्चित भूमिका खेल्न सक्दछ, वा खेल्नु पर्ने हुन्छः

  • योजना, कार्यक्रम वा आयोजनाका गतिविधि मा प्रभाव पार्ने ।
  • नीति निर्माण वा नीतिगत तहमा प्रभाव पार्ने ।
  • तोकिएको लक्ष्य, नतिजा हासिल गर्न नेतृत्व वा सहयोगी भूमिका निर्वाह गर्ने ।
  • श्रोत साधनको पहिचान र परिचालन गर्ने ।
  • निश्चित क्षेत्रमा बजेट लगानी गर्ने ।
  • अन्तर-निकाय समन्वय, सहकार्य र सहजीकरण गर्ने ।
  • कार्यक्रमको उद्देश्य पुरा गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भूमिका खेल्ने ।

यस्तै सरोकारवाला भनेको यस्तो कार्यालय, संस्था, निकाय (वा व्यक्ति) हो जसलेः

  • कार्यक्रमका वारेमा जानकारी राख्छन् ।
  • समन्वय र कार्यक्रमको वकालत तथा प्रचार प्रसार गर्न सक्छन् ।
  • राम्रो नतिजा प्राप्त गर्नमा अप्रत्यक्ष सहयोग गर्न सक्छन् ।
  • आर्थिक लगानी गर्न सक्दैनन् तर चासो राख्न सक्दछन् ।
  • निर्णयमा प्रत्यक्ष प्रभाव पार्न सक्दैनन् तर दवाव दिन वा लविङ गर्न सक्छन् ।

 

 

 

२ साझेदार संस्था विश्लेषण र सहयोगका क्षेत्रहरु

२.१. साझेदार संस्था विश्लेषणको विधि

  • सबै साझेदार संस्थाहरुको विवरण तयार गर्ने ।
  • उनिहरुको कार्यक्षेत्र पत्ता लगाउने ।
  • साझेदारहरुको क्षमता विश्लेषण गर्ने ।
  • अवसर र चुनौति विश्लेषण गर्ने ।
  • सम्बन्धित योजना÷कार्यक्रम÷नीति कार्यान्वयनमा के योगदान गर्न सक्छन् वा उनीहरुको भुमिका के हुन सक्छ सो को एकीन गर्ने ।
  • यसमा अन्य निकायको सहयोगी भूमिका हुन सक्ने, नसक्ने समेत एकीन गर्ने ।
  • परिपुरक भूमिका पत्ता लगाउने ।
साझेदार तथा सरोकारवाला विश्लेषण
अधिकार जानकारी दिदै काम गर्दै गर्ने राम्रोसंग व्यवस्थापन गर्ने
अनुगमन गर्ने (चनाखो हुने) नजिकमा रहेर काम गर्ने
ईच्छाशक्ति

        २.२ साझेदार संस्थाहरूको क्षमता विश्लेषण र सहयोगका क्षेत्रहरू

(क) नक्सांकन

  • सबै साझेदार संस्थाहरुको विवरण तयारी ।
  • यसलाई जिल्ला, स्थानीय तहको नक्सामा देखाउने (स्थानीय तहमा कुन, कुन संस्थाहरुले काम गर्दैछन भन्ने थाहा पाउन सकिन्छ)
  • लगानी भएको श्रोत थाहा पाउन सकिन्छ ।
  • योजना वा क्रियाकलाप स्वीकृत गर्दा कुन क्षेत्रलाई प्राथमिकता दिनु पर्ला भनि थाहा पाउन सकिन्छ ।
  • संघ, प्रदेश र स्थानीय तह लगायत विषयगत कार्यालय, विकास साझेदार र गैर सरकारी क्षेत्रको सहयोग प्राप्त गर्न सजिलो हुन्छ ।
साझेदार संस्था विश्लेषण नमुना फारम
कार्यालय÷निकाय÷संस्था को नाम
जिल्ला
गाँउ÷नगरपालिका
कार्यालय÷निकाय÷संस्था को प्रकृति (Nature)
लक्ष्य (Goal)
उद्देश्यहरु (Objectives)
सेवा तथा सेवाग्राही (Services and Client)
प्रभाव पार्ने क्षेत्रहरु (Implications)
सवल पक्ष (Strength)
अवसर (Opportunity)
योगदान गर्न सक्ने क्षेत्रहरु (Areas of Contribution)

 

(ख) सहयोगका क्षेत्रहरु

  • पुरा नभएका कार्यक्रम वा सूचकहरु पुरा गर्नेः स्थानीय तह, सम्बन्धित विषयगत कार्यालय, गैसस, प्रशिक्षण प्रतिष्ठान वा तालिम केन्द्रहरु, बजार व्यवसायीहरु, उद्यमीहरु, सहकारी, उत्पादन समुह, संजाल, आदि ।
  • क्षमता विकास सम्बन्धि सहयोगः सम्बन्धित विषयगत कार्यालय, सम्बन्धित आयोजना वा कार्यक्रम, संघीय तथा प्रदेश तहका संरचना, गैसस, आदि ।
  • श्रोत परिचालनः स्थानीय तह, आयोजना, कार्यक्रम, गैर सरकारी क्षेत्र, समूह, आदि ।
  • नेतृत्वः स्थानीय तह र सम्बन्धित निकाय वा संस्था÷समुह ।
  • समन्वयः प्रदेश तह, जिल्ला समन्वय समिति, स्थानीय तह र तिनका संघ, महासंघहरु, सम्बन्धित विषयगत कार्यालय, आदि ।

२.३ प्रमुख साझेदार संस्थाहरू र तिनको भूमिकाः

वातावरणमैत्री स्थानीय शासनका सूचकहरू मध्ये आ-आफ्नो कार्यक्षेत्र सम्बन्धी सूचकहरू हासिल गर्नेगरी नीति, रणनीति तथा कार्यनीति तयार गरी सो बमोजिम आवश्यक लगानी, समन्वय तथा सहजीकरण गर्ने जिम्मेवारी सबै सरोकारवाला निकायहरूको हुनेछ । तथापि प्रमुख सरोकारवाला निकायहरूको भूमिका तथा जिम्मेवारी यस प्रकार हुनेछः

२.३.१ संघस्तरका प्रमुख साझेदार संस्थाहरु र तिनको भूमिका

(१) राष्ट्रिय योजना आयोग

  • विषय क्षेत्रगत तथा वहुसरोकारका विषय र वातावरणमैत्री स्थानीय शासन सम्बन्धी नीति तथा रणनीतिहरु विच सामन्जस्यता कायम गर्ने,
  • सबै सरकारी एवं गैर सरकारी क्षेत्रमा वातावरणमैत्री स्थानीय शासन पद्धतिलाई मूलप्रवाहीकरण गर्न नीतिगत निर्देशन दिने एवं साझेदारी स्थापना गर्ने, गराउने,
  • वातावरणमैत्री स्थानीय शासन सम्बन्धी दीर्घकालीन तथा आवधिक योजना तर्जुमामा सहयोग र समन्वय गर्ने,
  • वातावरणमैत्री योजना र कार्यक्रमलाई सरकारको नीति र कार्यक्रमको प्रमुख प्राथमिकतामा राखी यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय र सामन्जस्य गर्ने ।

 

(२) अर्थ मन्त्रालय

  • सम्वन्धित मन्त्रालयको अनुरोधमा वातावरणमैत्री स्थानीय शासन पद्धतिको संस्थागत विकास एवं प्रवर्धन गर्न आवश्यक बजेट व्यवस्था गर्ने,
  • वातावरणमैत्री स्थानीय शासन संचालनका लागि आवश्यक बाह्य स्रोत जुटाउन सहयोग र समन्वय गर्ने,

(३) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

  • वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनका लागि समन्वय गर्न राष्ट्रिय सचिवालयको रूपमा रही काम गर्ने,
  • सूचकहरू हासिल गर्न स्थानीय तहको क्षमता विकासका कार्यहरू सञ्चालन गर्ने,
  • नीतिगत समन्वय तथा सहजीकरण र वहस पैरवी गर्ने,
  • वातावरणमैत्री स्थानीय शासनका सूचकहरूलाई स्थानीय तहको निमित्त तयार गरिने नमूना कार्यविधि एवम् निर्देशिकाहरूमा मूलप्रवाहीकरण गर्ने,
  • हरितनगर, पर्यटकीय नगर, धार्मिक नगर जस्ता विशेष विशेषतायुक्त सूचकहरू तयार गर्ने,
  • वातावरणमैत्री स्थानीय तहहरुको अभिलेख अद्यावधिक गर्ने,
  • मन्त्रालयको अनुगमन संरचनामा यसका सूचकहरूलाई समावेश गर्ने,
  • केन्द्रीयस्तरका कार्यालयको वातावरणमैत्री कार्यालयका सूचक प्राप्तीको मूल्याङ्कन गरी लोगो एवम् कदर पत्रका लागि राष्ट्रिय समन्वय समिति समक्ष सिफारिस गर्ने,
  • (झ) आवश्यक अन्य कार्यहरू गर्ने ।

(४) कृषि तथा पशुपन्छी विकास मन्त्रालय

  • कृषि विकास सम्बन्धी नीति तर्जुमा एवम् कार्यान्वयन गर्दा जलवायु अनुकुलन कृषि तथा वातावरणीय पक्षलाई ध्यान दिने,
  • व्यावसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणाली अवलम्वन गर्दा वातावरणीय पक्षमा ध्यान दिने,
  • मन्त्रालयको काम संग सम्बन्धि वातावरणमैत्री स्थानीय शासनका सूचकहरु प्राप्त गर्न सहयोग गर्ने,
  • प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण, संबर्धन एवम् सदुपयोग गर्ने ।

(५) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

  • विद्युत प्रणाली विकास गर्दा वातावरणीय पक्षमा ध्यान दिने,
  • जलस्रोतको उपयोग र व्यवस्थापन गर्दा वातावरणीय पक्षमा ध्यान दिने,
  • कृषि उत्पादनका लागि आवश्यक सिंचाई उर्जाको प्रवन्ध मिलाउने,
  • मन्त्रालयको काम संग सम्बन्धि वातावरणमैत्री स्थानीय शासनका सूचकहरु प्राप्त गर्न सहयोग गर्ने ।

(६) वन तथा वातवरण मन्त्रालय

  • वन तथा जलाधार संरक्षण गर्दै कृषियोग्य भूमिको संरक्षण र उत्पादकत्वमा बृद्धि, पानीमुहान, वन्यजन्तु र जैविक विविधताको संरक्षण, जलवायु शुद्धिकरण जस्ता मानव स्वास्थ्य रक्षा एवं प्रकृति संरक्षण र वातावरणीय स्वच्छता सम्वन्धि कार्य गर्ने,
  • सम्वेदनशील भू-धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक वनावट भएका क्षेत्रको पहिचान गरी वातावरण संरक्षण सम्वन्धी कार्य गर्ने,
  • हरित विकासको अवधारणा अनुरुप मानवीय क्रियाकलाप र विकास प्रकियालाई वातावरणमैत्री वनाउन सहयोग गर्ने,
  • दिगो विकासमा जलवायु परिवर्तनले पार्ने प्रभावलाई न्यूनीकरण गर्दै वातावरण संरक्षण सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालयको काम संग सम्बन्धि वातावरणमैत्री स्थानीय शासनका सूचकहरु प्राप्त गर्न सहयोग गर्ने ।

(७) विकास साझेदार

  • वातावरणमैत्री स्थानीय शासन कार्यान्वयन गर्न तिनै तहका सरकारलाई सघाउने,
  • वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, फोहरमैला एवम् विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्दा वातावरणमैत्री स्थानीय शासनका सूचकहरू हासिल गर्न समन्वय र सहयोग गर्ने,
  • वातावरणमैत्री स्थानीय शासनका सूचकहरू हासिल गर्न आवश्यक क्षमता विकासका कार्यक्रम, प्रचार÷ प्रसार र उत्प्रेरणा सम्बन्धी कार्यहरू सम्पादन गर्न सहयोग र सहकार्य गर्ने ।

(८) स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान

  • स्थानीय तहको प्रशासकीय एवम् व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न संचालन गरिने तालिम कार्यक्रमहरुमा वातावरणमैत्री स्थानीय शासन सम्बन्धी नीतिगत, कार्यक्रमगत तथा नतिजागत विषयहरुलाई स्थान दिने,
  • क्षमता विकास सम्बन्धी तालिममा बातावरणमैत्री अवधारणा समावेश गर्ने,
  • अनुसन्धान तथा परामर्श सेवा सम्बन्धी कार्यहरुमा वातावरणमैत्री स्थानीय शासन सम्बन्धि विषय समावेश गर्ने,
  • प्रशिक्षक प्रशिक्षण (ToT) को विषयवस्तुमा वातावरणमैत्री स्थानीय शासनको विषय समावेश गर्ने ।

(९) स्थानीय तहका संघ, महासंघहरु

  • वातावरणमैत्री स्थानीय शासन सम्बन्धी अनुभव आदान प्रदान गर्ने व्यवस्था मिलाउने,
  • वातावरणमैत्री स्थानीय शासन पद्धतिको प्रवर्धन गर्न सम्बन्धित संघ÷महासंघहरुबीच समन्वयकारी भूमिका निर्वाह गर्ने र श्रोत परिचालनमा सहयोग गर्ने,
  • वातावरणमैत्री स्थानीय शासन सम्बन्धी कार्यको अनुगमन र मूल्याङ्कन गर्ने, गराउने ।

२.३.२ प्रदेशस्तरका प्रमुख साझेदार संस्थाहरु र तिनको भूमिका

(१) वातावरण संग सम्बन्धित कार्य गर्ने प्रदेश सरकारका मन्त्रालय(हरु)

  • कृषियोग्य भूमि, पानीमुहान, वन्यजन्तु र जैविक विविधता सम्वन्धी कार्यमा स्थानीय तहलाई सहयोग गर्ने,
  • वातावरणमैत्री स्थानीय शासनको प्रवर्धनमा स्थानीय तहलाई सहयोग गर्ने,
  • वातावरणमैत्री स्थानीय शासनका सूचकहरु पुरा गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने ।

(२) प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र

  • स्थानीय तह र वडा तथा समुदाय तहका लागि वातावरणमैत्री स्थानीय शासन सम्बन्धी तालिम संचालन गर्ने,
  • आ-आफ्नो वार्षिक कार्यक्रम अनुसार प्रदेश तथा स्थानीय तहमा क्षमता अभिवृद्धि गर्न संचालन गरिने प्रशिक्षणमा वातावरणमैत्री स्थानीय शासनको अवधारणालाई स्थान दिने,
  • स्थानीय तहको क्षमता विकास योजना तर्जुमा गर्दा वातावरणमैत्री स्थानीय शासनका सूचकहरु समेत समावेश गर्ने,
  • प्रशिक्षण सामाग्री तयार गर्ने तथा परामर्श सेवा एवं ज्ञान ब्यवस्थापन सम्बन्धी कार्यहरु गर्दा वातावरणमैत्री स्थानीय शासनको अवधारणाको स्मरण गर्ने,
  • क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्दा प्राप्त हुने ज्ञान र अनुभवलाई वातवरणीय दृष्टिले विश्लेषण गरी प्रतिवेदन तयार गर्ने ।

२.३.३ जिल्ला र स्थानीयस्तरका प्रमुख साझेदार संस्थाहरु र तिनको भूमिका

(१) जिल्ला समन्वय समिति

  • वातवरणमैत्री स्थानीय शासन सम्बन्धी कार्यको लागि सम्पर्क डेस्कको व्यवस्था गर्ने,
  • संघ तथा प्रदेश सरकार मातहतका जिल्लास्तरीय कार्यालय र अन्य साझेदार निकाय बीचमा सम्पर्क, समन्वय र साझेदारी विकास गर्न समन्यकारी भूमिका निर्वाह गर्ने,
  • विभिन्न निकायबाट संचालन भएका वातावरणमैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रमहरुको सुपरीवेक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने गराउने,
  • वातावरणमैत्री स्थानीय शासनको अनुगमन गरी प्रतिवेदन तयार गर्ने र आवधिक प्रगति समीक्षा गरी कार्यक्रम संचालनमा देखा परेका समस्याहरु निराकरण गर्न समन्वय र सहजीकरण गर्ने,

(२) गाँउ÷नगरपालिका

  • वातावरणमैत्री स्थानीय शासनका नतिजा हासिल गर्न साधन-स्रोतको परिचालन गर्ने,
  • आफ्नो क्षेत्रमा वातावरण संरक्षणसँग सम्बन्धित कार्य गर्ने सबै सरकारी निकायहरू, विकास साझेदार, गैरसरकारी सङ्घ, संस्था तथा निजी क्षेत्रलाई वातावरणमैत्री स्थानीय शासनका सूचकहरू हासिल गर्न समन्वय, सहजीकरण तथा सहकार्य गर्ने,
  • आ-आफ्नो भौगोलिक क्षेत्र भित्रका घर, परिवार, टोल÷वस्ती, वडा सहित आफ्नो गाँउ÷ नगरपालिकालाई वातावरणमैत्री घोषणा गर्न प्रयत्नरत रहने ।

(३) विषयगत शाखा÷कार्यालय

  • वातावरणमैत्री स्थानीय शासन पद्धतिको प्रवर्धन गर्न स्थानीय तहलाई सहयोग र समन्वय गर्ने,
  • आ-आफ्नो क्षेत्रमा संचालन हुने कार्यक्रमलाई वातावरणमैत्री ढंगवाट संचालन गर्ने,
  • आ-आफ्नो क्षेत्रका वातावरणमैत्री स्थानीय शासन सम्बन्धी सूचक प्राप्त हुनेगरी योजना तर्जुमा र कार्यान्वयन गर्ने,
  • वातावरणमैत्री स्थानीय शासन सम्बन्धी भएका क्रियाकलाप तथा प्रगति विवरणको सूचना अद्यावधिक र सम्प्रेषण गर्ने,
  • आ-आफ्नो क्षेत्रबाट हुने विकास निर्माण कार्यलाइ वातावरणमैत्री बनाउने ।

(४) सामुदायिक तथा सहकारी सङ्घ, संस्था

  • सामुदायिक तथा सहकारी संस्थाका सदस्यहरूलाई वातावरणमैत्री स्थानीय शासनका घरपरिवार तह र टोल तहका आधारभूत सूचकहरू हासिल गर्न प्रेरित गर्ने,
  • वातावरणमैत्री स्थानीय शासनका सूचकहरू हासिल गर्न सहयोग पुग्नेगरी आफ्नो क्रियाकलाप सञ्चालन गर्ने,
  • वातावरणमैत्री स्थानीय शासनका सूचकहरू प्राप्त हुनेगरी सम्बन्धित स्थानीय तहसँग साझेदारी तथा सहकार्य गर्ने ।

२.३.४ अन्य

(१) गैरसरकारी संस्थाहरु

  • सम्बन्धित स्थानीय तहको वार्षिक योजना तथा कार्यक्रममा संस्थाका क्रियाकलापहरु समावेश गरी स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा वातावरणमैत्री स्थानीय शासनका सूचकहरू हासिल गर्नेगरी उपलब्ध स्रोतको परिचालन गर्ने,
  • स्थानीयस्तरका सामुदायिक एवम् सामाजिक संघ, संस्थाहरूलाई वातावरणमैत्री स्थानीय शासनका सूचकहरू मापन गर्न आवश्यक पर्ने क्षमता विकास सम्बन्धी कार्यहरू सञ्चालन गर्न सहयोग गर्ने,
  • वातावरणमैत्री स्थानीय शासनको अवधारणालाई घर-परिवारसम्म पुर्याउन स्थानीय तहसँगको समन्वयमा सामाजिक परिचालनका कार्यहरू सञ्चालन गर्ने,
  • घर-परिवार, टोलबस्ती एवम् स्थानीय तहहरूबीच सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न उत्प्रेरकको काम गर्ने ।

(२) निजी क्षेत्र

  • उद्योग व्यवसाय सञ्चालन गर्दा वातावरणमैत्री स्थानीय शासनका सूचकहरू हासिल गर्न सहयोग पुग्ने गरी गर्ने,
  • सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) को रूपमा बिनियोजन हुने रकम वातावरणमैत्री स्थानीय शासनका सूचक हासिल गर्न सहयोग पुग्ने गरी लगानी गर्ने,
  • वातावरणमैत्री स्थानीय शासनका सूचकहरू प्राप्त हुने गरी नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग साझेदारी तथा सहकार्य गर्ने ।